एकता गर्दै अघि बढौं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १३ २०८२
3.6K
SHARES

१३ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन र पार्टीहरुमा बढ्दो संकट रोक्न नेकपा एकीकृत समाजवादी र माओवादीवादीबीच एकताको प्रस्ताव गरेका छन् । पछिल्ला दिनमा प्रचण्ड र माधव नेपालबीच भएका संवादमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हतारमा पार्टी एकता गर्न तयार देखिएका छैनन् ।सोमबार मात्र माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो । त्यसको अघिल्लो दिन आइतबार पनि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र नेपालबीच संवाद भएको थियो ।

‘अहिले तपाईं हामी सबैलाई क्राइसिस छ, हामी मिल्यौं भने यो क्राइसिसको सामना गर्न सहज हुन्छ,’ प्रचण्डले माधव नेपालसँगको संवादमा भन्ने गरेका छन् ।तर नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले दुई नेताबीच पार्टी एकताबारे औपचारिक रुपमा छलफल नभए पनि अनौपचारिक रुपमा कुराकानी हुनु स्वाभाविक रहेको बताए । ‘औपचारिक रुपमा एकताका लागि छलफल भएको छैन । तर नेताहरुबीचको भेटवार्तामा पार्टीभित्रका समस्या र कम्युनिस्ट आन्दोलनका सवालमा कुरा हुनु स्वभाविक हो,’ ज्वालाको भनाइ छ ।

स्रोतका अनुसार प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले भने पार्टीपंक्तिमा सल्लाह गरेर जवाफ दिने बताउने गरेका छन् ।‘हामी पार्टीपंक्तिमा सल्लाह गर्छौं । तर अहिले हामी पार्टी निर्माण गर्ने र सशक्त बनाउनेतिर नै छौं,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘हतार गरेर गरिने एकता दिगो नहुन सक्छ ।’
उपाध्यक्ष प्रकाश ज्वालाले अहिले आफ्नो पार्टीको कसैसँग पनि एकताबारे ठोस कुरा नभएको बताए ।‘कसैसँग पनि एकताबारे ठोस कुरा भइसकेको छैन,’ ज्वालाले भने, ‘सहकार्यका विषयहरुमा छलफलहरु बढी केन्द्रित भएका छन् ।’