विधान महाधिवेशनको व्यवस्थापनका लागि एमालेमा जिम्मेवारी बाँडफाँट


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १५ २०८२
1.2K
SHARES

काठमाडौं । नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । हिजो बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले विभिन्न नेताहरूलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी दिएको छ ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ ।

१० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो ? कतिले पार्टी छोडे ती सबै विषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए ।यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई जिम्मा दिइएको छ । महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जिम्मा दिइएको छ ।

यस्तै सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा. अधिकारीलाई जिम्मा दिइएको छ । कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मा दिएको छ । महाधिवेशनको प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई जिम्मा दिइएको छ । यस्तै स्वागत नृत्य सहित विविध सांस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको छ ।

महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्था आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ ।विधान महाधिवेशनमा २२सय ७९ जना प्रतिनिधि रहनेछन् । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुँदै छ ।