दिक्तेलका मेयर भट्टराई अस्पतालमै
१६ साउन काठमाडौं । सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार अबेरसम्म बसेको वार्ताबाट कुनै निष्कर्ष ननिस्किएको हो ।मेयरका तर्फबाट वार्ता समितिका सदस्य एवं दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दानबहादुर राईका अनुसार वन तथा वातावरण मन्त्रालय र शहरी विकास मन्त्रालयका दुईजना सचिव, पाँचजना उपसचिवसँग वार्ता भएको थियो ।
“गएराति भएको वार्ता निष्कर्षविहीन बनेको छ । उहाँहरूले ‘गरिने र हुने’ भन्ने खालको भाषा प्रयोग गर्नुभयो । त्यसैले वार्ता सफल हुन सकेन । आज पनि वार्ता छ,” राईले भने ।मेयर भट्टराई वीर अस्पतालमा उपचाररत छन् । “मेयर साबलाई अस्पतालमै राखेर हामी वार्तामा सहभागी भइरहेका छौँ । उहाँलाई इमरजेन्सीबाट क्याविनमा सारिएको छ । अलिअलि बोल्नुहुन्छ,” उनले भने ।
उनले साउन ११ गतेदेखि तीन दिने सत्याग्रह गरेका थिए । त्यसपछि बुधबार (साउन १४ गते) देखि माइतीघरमा अनिश्चितकालीन आमरण अनसन सुरु गरेका थिए ।उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि बुधबार राति करिब १० बजे प्रहरीले उनलाई वीर अस्पताल पुर्याएको थियो ।मेयर भट्टराईले जैविक विविधता, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, बाँस प्रवर्द्धन, गिटी क्रसर नियमन र जंगली जनावर नियन्त्रणलगायत सातबुँदे माग राखेका छन् ।