एकपटक फेरि क्रान्ति गर्छु – प्रचण्ड
१८ असाउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताएका हुन् ।आफू जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधान सभा र अहिले पनि जीवित रहनु परेको कारण अर्काे क्रान्ति गर्न भएको उनको भनाइ छ ।
‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेका छौं । हाम्रो वर्गसँगै जोडिने फेरि बल गर्दैछौं’, केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’
उनले अहिले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय अघि बढेको बताउँदै यसमा पनि चलखेलहरु भइरहेको दाबी गरे । ‘विषय अघि बढेको छ, तर यसमा पनि चलखेल भइराखेको छ । तिखो आँखाले हेरिरहनपर्छ’, उनले भने, ‘हामीले एकताबद्ध गरेनौं भने अप्ठेरो आउन सक्छ । म अपिल गर्छु ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नु पर्ने कुनै कारण नभएको पनि बताए । यो अदालत प्रवेश गर्ने विषय नै नभएको बताउँदै उनले यसलाई राष्ट्रिय दिवसकै रुपमा आत्मसाथ गरेर मनाउनु पर्ने बताए ।