पार्टीभित्रको गल्तीको समीक्षा गर्दै दसैँपछि बस्ने बैठकले महाधिवेशनको मिति तोक्छ
२० साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ४ दिनसम्म चलेको स्थायी कमिटी बैठक सकारात्मक निष्कर्षसहित सकिएको बताएका छन् ।बैठकले पार्टीको एकतामा जोड दिएको भन्दै छलफलको स्वतन्त्रता कामकारबाहीमा एकरूपताको मान्यतालाई सबैले अवलम्बन गर्नु पर्ने आवश्यकता औँल्याएको बताए ।
बैठकपछि उनले भनेका छन्, ‘निजी स्वार्थ केन्द्रित पार्टी हितविरोधी स्वार्थ समूह वा गुटहरूको अन्त्य गर्ने सामूहिक संकल्प पनि गरेको छ ।’प्रतिगमन र यथास्थितिवादलाई परास्त गर्दै सामाजिक, आर्थिक रूपान्तरण र सामाजिक न्याय सहितको समृद्धिको आजको प्रमुख राष्ट्रिय कार्यभार पूरा गर्न आवश्यक रहेको बताए । उनले थपेका छन्, ‘ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीको रूपान्तरण एवं पुनर्गठनको प्रक्रियालाई अझ जोड दिएर अघि बढाउने निष्कर्ष पनि बैठकले निकालेको छ ।’
विप्लवले नेतृत्व गर्नु भएको नेकपा लगायत अन्य क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै वार्ता गर्ने र समाजवादी मोर्चाको सुदृढीकरण एवं विस्तारमा पनि प्रयत्न गर्ने निर्णय गरिएको बताए। पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरूको समेत समीक्षा गरिएको उनले बताए ।वर्षाको कारणबाट स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई भदौको तेस्रो हप्ताबाट पुनः निरन्तरता दिने पनि निर्णय गरिएको बताए ।
उनले थपेका छन्, ‘यस वर्षको दसैँपछि केन्द्रीय समितिको बैठक बस्ने र राष्ट्रिय महाधिवेशनको टुङ्गो समेत केन्द्रीय समितिको बैठकबाट लिने निर्णय गरिएको छ ।’