राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन – अध्यक्ष लिङदेन


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
1.8K
SHARES

२५ साउन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । राप्रपाभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने उनले स्पष्ट पारे ।उनले राप्रपा अब कहिल्यै विभाजन नहुने जिकिर गरे । विगतमा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेष अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको भनाइ छ ।

“यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,” उनले भने, “म यति नै भन्छु, यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।”

उनले पार्टीमा देखिएका समस्या भित्रैबाट समाधान गरिने बताए । चित्त नबुझेका विषय पार्टीका समितिमा छलफल गरिने र त्यसबाट निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने उनले उल्लेख गरे ।

पार्टीका समितिमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनले बताए । तर, पार्टीको आन्तरिक विषय सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकमा भ्रम पार्नेजस्ता कार्य गर्न नहुनेमा उनले जोड दिए ।बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छाैं,” उनले भने ।राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाइ पढ्नोस्–
यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो लामो समयदेखि एउटा प्रवृत्ति थियो, जो चित्त नबुझ्नेबित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने त्यो चिज मेरो कार्यकालमा आएन र त्यो देखिने गरी केही भएको थिएन । तर, कहिलेकाहीँ त्यो प्रवृत्तिको अवशेष देखिने कोसिस गर्छ । तर, अब त्यो सम्भावना पनि छैन राप्रपामा । र, म यति नै भन्छु– यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।

बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छाैं । त्यो विवादका पार्टका रूपमा रहेका साथीहरूलाई पनि म आग्रह गर्छु । पार्टी भनेको समान विचारका मानिसहरूको अथवा विचार मिल्ने मानिसहरूको संगठित संस्था हो । त्यसमा केही अनुशासन हुन्छ, केही पद्धतिहरू हुन्छन् । कमिटी प्रणाली हुुन्छ । चित्त नबुझेका विषयहरू कमिटीमा छलफल गर्ने, छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन, अल्पमतमा परियो, चित्त बुझेन भने महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्छ । नेतृत्वमाथि नै विश्वास भएन, नेतृत्वसँगै आफ्ना चित्त बुझेन भने नेतृत्वमाथि नै चुनौती दिने महाधिवेशनमा लाग्यो भने पनि पार्टीभित्र ती प्रक्रियाहरू खुला हुुन्छन् । तर, पार्टीको आन्तरिक विषयहरू सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरूमा भ्रम पार्नेजस्ता कामहरू गर्न अनुपयुक्त हुन्छ । सदाझैँ हामी यो समस्यालाई समाधान गरेर लान्छौँ ।

यसमा मैले नयाँ काम गरेको होइन त्यो । म अध्यक्ष भईकनको पहिलो काम पनि होइन त्यो । नियमित रूपमा विभागहरूको हेरफेर गर्ने, जिम्मेवारी हेरफेर गर्ने कामहरू पहिले पनि भइराखेका हुन्थे । त्यहीक्रममा यसपटक पनि भएको थियो । योपटक विभागहरूको हेरफेर गर्दाखेरि एउटा व्यक्ति जसले चाहिँ अहिले कम्प्लेन गर्नुभयो, चित्त बुझाउनु भएन, उहाँको मात्रै होइन, धेरै मान्छेहरूको हेरफेर गरिएको थियो जिम्मेवारीबाट । पार्टीको विधानले नै अध्यक्षलाई दिएको सुविधा हो, विभिन्न समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँट गर्ने, पदाधिकारीहरूलाई, सदस्यहरूलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने अध्यक्षको जिम्मेवारी हो । त्योअनुसार नै गरेको कामहरू हो ।

नेपालजस्तो भूराजनितिक परिस्थिति भएको देशको लागि अभिभावकीय संस्थाको रूपमा राजसंस्था उपयुक्त हुन्छ भनेर हामीले निरन्तर रूपमा आवाज उठाइराखेका छौँ । अहिले पछिल्लो दिनमा जुन परिवेश बनिरहेको, बन्दै गएको छ, जनमत बन्दै गएको छ, त्यो सबैै पृष्ठभूमिमा अब राजसंस्था पुनर्स्थापनाचाहिँ निकटमा पुगेको छ भन्ने मलाई लाग्छ ।

राजसंस्था पुनर्स्थापना पक्षधर विभिन्न पार्टी संघसंस्थाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी मूल शक्ति हो भन्ने कुरामा कुनै विवाद छैन । राप्रपाले जहिले पनि यो समान–समान दृष्टिकोण राख्ने सबै शक्तिहरू एकठाउँ भएर नै अगाडि जानुपर्दछ भन्ने आफ्नो धाराणा राख्दै आएको छ । विगतको तुलनामा हामीले जेठ १५ गते जुन कार्यक्रम आयोजना गर्‍यौँ, त्यसले परिणाम त दिएन र कुनै एकैदिनको कुनै कार्यक्रमले सबै परिणाम ल्याउने भन्ने कुरा पनि हुँदैन । तर, त्यस बेला एउटा सकरात्मक सन्देश हामी प्रवाह गर्न सफल भयौँ । एउटा राम्रो सिलसिलाको प्रारम्भ भयो । राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरू एकठाउँ उभिएरचाहिँ अगाडि बढ्यौँ । यसमा भएका कमी–कमजोरीहरूलाई सच्याएर आगामी दिनमा अगाडि जान सकिन्छ भन्ने प्रस्ट भएको छ ।

अध्यक्षले मनोनीत गर्न पाउने जति पदहरू छ, त्यो हामीले परम्परागत रूपमा नै परिवर्तन गर्दै आइराखेको हो । विभागको प्रमुख तोक्ने, विभागको सदस्यसचिव तोक्ने, सदस्य तोक्ने भनेको अध्यक्षले नै हाम्रो पार्टीमा चाहिँ व्यवस्था छ । त्यही हामीले पहिलेदेखि गर्दै आएका छौँ । कसैलाई पार्टीबाट निकालिएको होइन, कारबाही गरिएको होइन ।

निर्वाचन आयोगको कार्यक्षेत्र नै होइन, राप्रपाको प्रवक्ता को हुनुपर्छ, विभागको सदस्स्यसचिव को हुनुपर्छ, विभाग प्रमुख को हुनुपर्छ भन्ने कुरा निर्वाचन आयोगको काम नै होइन ।