आवास कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २५ २०८२
988
SHARES

२५ साउन काठमाडौं । पछिल्लो महिनाहरूमा व्यक्तिगत आवास बन्ने क्रम केही बाक्लो देखिएको छ । जसकारण यस क्षेत्रमा कर्जा जाने क्रम पनि बढ्दो छ । आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने व्यक्तिगत आवास कर्जा २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो वृद्धि उल्लेखनीय हो । यसले आवास तथा निर्माण क्षेत्रमा लगानीको माग उच्च रहेको संकेत गरेको बैंकरहरूले बताएका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी ५४ वटा बैंक तथा वित्त कम्पनीहरूले व्यक्तिगत घर निर्माणका लागि ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ खर्ब ८५ अर्ब ४१ करोड २० लाख रुपैयाँ मात्र थियो। जानकारहरूका अनुसार पछिल्लो समयमा ब्याजदर घट्दै जाँदा पनि आवास कर्जा बढेको हो । रेमिट्यान्सको उच्च दरमा भित्रँदा पनि व्यक्तिगत आवास निर्माणले प्रश्रय पाएको उनीहरूको भनाइ छ । सुस्त रहेको रियल इस्टेट पुनः लयमा आएको र आवासीय परियोजनाहरू तीव्र गतिमा विस्तार हुँदै गएकाले पनि यस्तो कर्जा लिने आकर्षण बढाएको जानकारहरू बताउँछन् ।

गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र तीन खर्ब २६ अर्ब ७२ करोड ६० लाख रुपैयाँ व्यक्तिगत घर कर्जा दिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ अर्ब ६२ करोड ७० लाख रुपैयाँ बढी हो।विकास बैंकहरूले यस अवधिमा ६८ अर्ब ६७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको तुलनामा ११ अर्ब छ करोड ५० लाख रुपैयाँको कर्जा प्रवाह बढेको हो । यस्तै फाइनान्स कम्पनीले १४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ कर्जा विस्तार व्यक्तिगत आवासतर्फ गरेका छन् । जुन अघिल्लो वर्षभन्दा एक अर्ब ९४ करोड रुपैयाँ बढी हो।

व्यक्तिगत आवास कर्जाले निर्माण तथा रियल इस्टेट क्षेत्रमा रोजगारी र आर्थिक गतिविधि बढाउने र अर्थतन्त्र लयमा फर्काउने बताइएको छ । चालु आवको मौद्रिक नीतिले पनि घरजग्गा तर्फको कर्जा बढाउने गरि सहजता अपनाएको छ । जसले समग्र अर्थतन्त्रमा टेवा पुर्‍याउने जानकारहरू बताउँछन् ।समय बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माणका लागि उपलब्ध गराउँदै आएको कर्जामा विभिन्न अफर र स्कीम तथा योजनाहरू सार्वजनिक गरेर ग्राहकहरू आकर्षित गरिरहेका छन् । अहिले जग्गाको भाउ स्थिर रहेको समयमा यस क्षेत्रमा कर्जा केही बढेको देखिएको हो ।

आवास कर्जा बाहेक, बैंकिङ क्षेत्रमा हालसम्मको कुल कर्जा विस्तार भएको छ। गत आवको ११ महिनासम्म कुल कर्जा ५५ खर्ब ५४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा चार खर्ब २६ अर्ब दुई करोड ३० लाख रुपैयाँ बढी हो । यसमा वाणिज्य बैंकको हिस्सा सबैभन्दा ठूलो छ भने विकास बैंक र फाइनान्सको योगदान क्रमशः दोस्रो र तेस्रो स्थानमा छ।

बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्यांकनमा पनि राम्रो अवस्था आएकाले अब कर्जा बढ्दै जाने जानकारहरूको भनाइ छ । बैंकरहरू पनि चालु आवको मौद्रिक नीति लचक आएकाले यो वर्ष कर्जा विस्तारमा केही सहज हुने देख्छन् । तर गैरबैंकिङ सम्पत्ति बढ्दै गएकाले र पुँजीकोष दवावमा रहँदै आएकाले कर्जा प्रवाह हौसिएर गर्न नसक्ने उनीहरूको बुझाई छ ।