नेपालमै पहिलोपटक ‘डिजिटल पीसीआर’ मेसिन जडान
२ भदौ काठमाडौं । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलोपटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज (भदौ २ गते) एक कार्यक्रमबीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’को उद्घाटन गरेका छन्।
मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए।उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही प्रतिबद्धताअनुरूप अन्य स्वास्थ्य संस्थाहरूमा जस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्रमशः क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको उनको सचिवालयले जनाएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार जनतासँग गरेका वाचा पूरा गर्न निरन्तर लागिपरेको बताए।
‘हामीले सार्वजनिक गरेको कार्ययोजना अनुरूप नै सरकारी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई आत्मनिर्भर र विश्वस्तरीय बनाउने निरन्तर अभियानमा छौं’, मन्त्री पौडेलले भने, ‘नागरिकले जटिल रोग उपचार परिक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने झन्झट हटाउन र खर्चबाट जोगाउन निरन्तर कार्य गर्ने छौँ।’