के गर्छस् मंगले आफ्नै ढंगले भनेजस्तो भयो – उपमहासचिव शर्मा
१२ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।
उनले भने, ‘कम्युनिस्ट धु्रविकरण आजको आवश्यकता छ। सानो समूह होइन, एउटा बृहत् स्वार्थ समूहभन्दा बाहिर रहेर। हामीले नेकपा बनाएर पनि प्रयास गर्यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला। मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो। म व्यक्तिबिशेृषलाई कुनै दोष दिन चाहन्नँ।’उनले आज निराशाको जगमा नयाँ नयाँ शक्तिहरू पैदा हुनुको जिम्मेवारी नेकपाको नेतृत्वले लिनुपर्ने बताए।
कम्युनिस्ट आन्दोलनको पुनर्गठन नयाँ पुस्ताले अघि बढाउन आवश्यक रहेको बताए।उनले थपे, ‘अब नयाँ पुस्ताले इगोको टकराब नगर्नेगरी, इगोकै कारणले नेकपा टुट्यो। अब नेताहरुलाई गाली गर्ने होइन। उहाँहरुलाई धारे हात लगाउने होइन। उहाँहरुको भूमिकालाई स्थापित र सम्मान गर्ने तर उहाँहरुले गरेका गल्तीबाट सिक्ने, ती गल्तीहरुबाट सिकेर पार्टीलाई लोकतान्त्रिकरण गर्ने, वैचारिक बहस गरेर विचार कार्यदिशा, कार्यनीति योजना संगठन, विधि जनता अनुकुल बनाउने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।’