राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको अधिकतम सीमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
1.1K
SHARES

२३ असोज काठमाडौं । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोड रुपैयाँको सीमा हटाएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि आज जारी गरेको सर्कुलरमार्फत पुरानो सीमा सम्बन्धी व्यवस्था खारेज गरेको हो।यसअघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। राष्ट्रबैंकले उक्त प्रावधान पूर्ण रूपमा हटाइदिएको जनाएको छ।

नयाँ निर्णयपछि अब व्यक्तिहरूले पनि बैंक तथा वित्तीय संस्थाहरूबाट जति आवश्यक छ त्यति सेयर धितो कर्जा लिन सक्ने अवस्था बनेको छ। अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पूँजीबजार सुधार कार्यदलले सेयर धितो कर्जामा रहेको यो सीमा हटाउन सिफारिस गरेको थियो। सोही सुझावको कार्यान्वयनस्वरूप नेपाल राष्ट्रबैंकले यो व्यवस्था खारेज गरेको हो। यस निर्णयले पूँजी बजारमा तरलता बढ्ने र लगानीकर्ताहरूको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।