सुन आयातको दैनिक कोटा बढ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
855
SHARES

२४ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । हाल वाणिज्य बैंकले दैनिक २० किलोग्राम (केजी) आयात गर्दै आएकामा २५ केजी बनाइएको छ ।राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेर आयात गर्न सकिने सुनको दैनिक परिमाण २५ केजी बनाएको हो ।यस्तो सुन नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरूले मात्र आयात गर्न सक्नेछन् । बैंकहरूले १००, २०० र ५०० ग्रामसम्मका परिमाणमा सुन आयात गरी बिक्री वितरण गर्नुपर्ने व्यवस्था छ ।

सुन खरिद गर्ने सुनचाँदी व्यवसायी संघहरूले तोक्ने खुद्रा मूल्य वाणिज्य बैंकहरूबाट खरिद भएको मूल्यमा ०.५० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।

सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा एकपटकमा अमेरिकी डलर तीन लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था छ ।अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।