धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन नरोकिने


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
1K
SHARES

२७ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले आन्दोलन नरोक्ने भएका छन्।आफ्ना मागका विषयमा हालसम्म कुनै पनि सम्बोधन नभएको भन्दै धितोपत्र बोर्डका कर्मचारीले आन्दोलन जारी राख्ने भएका हुन्। ‘हिजो शेयर लगानीकर्ताहरु आएर घेराबन्दी गर्नुभयो, सञ्चालक समितिले एउटा सूचना जारी गरेपछि उहाँहरु आश्वस्त भएर फर्किनुभयो’, धितोपत्र बोर्ड कर्मचारी युनियनका पूर्वअध्यक्ष राजबहादुर जीसीले भने, ‘तर, हाम्रो माग सम्बोधन गर्न कुनै पनि चासो दिइएन। त्यसैले हाम्रो आन्दोलन जारी रहन्छ।’

विगत ३ सातादेखि कर्मचारीहरुले आफूहरुले पाउँदै आएका सेवासुविधा कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय फिर्ता र धितोपत्र बोर्डलाई स्वायत्त संस्था कायम गर्नुपर्ने माग राख्दै आन्दोलनरत रहेका छन्। कर्मचारी आन्दोलनका कारण धितोपत्र बोर्डको कामकारबाही ठप्प रहेको छ।शेयर लगानीकर्ताले हिजो पुँजीबजार सुधारका काम अगाडि बढाउन र धितोपत्र बोर्डको नियम काम जारी राख्द माग गर्दै घेराबन्दी गरेका थिए। धितोपत्र बोर्डले पुँजीबजार सुधार कार्यदलले ३ महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयन चरणमा रहेको जानकारी गराएपछि लगानीकर्ताहरु राति १० बजेतिर फर्किएका थिए।

युनियनका पूर्वअध्यक्ष जीसीले आज ११ बजे धितोपत्र बोर्डका दुवै युनियनका कर्मचारीहरुको संयुक्त बैठक रहेको बताए। ‘सोही बैठकले अगाडि कसरी बढ्ने र थप आन्दोलनका कार्यक्रम के–के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ’, उनले भने।धितोपत्र बोर्डको सञ्चालक समितिले हाल देखिएको कानुनी जटिलताको निकास निकालेर व्यवस्थापन समितिलाई सोहीबमोजिम अगाडि बढ्न निर्देशन दिएपछि मात्रै कर्मचारीको आन्दोलन रोकिने बताए। ‘नत्र हाम्रो आन्दोलन रोकिँदैन’, उनले भने।