धितोपत्र बोर्ड ३८ दिनदेखि ठप्प


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
1.2K
SHARES

१३ कात्तिक काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि मुलुकको पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डका सबै काम ठप्प छन् । ३८ दिनदेखि बोर्डका कर्मचारी आन्दोलनमा रहँदै काम ठप्प पारेका हुन् । असोज ७ गतेदेखि बोर्डका सबै काम ठप्प हुँदा पनि सरकारले समस्या समाधानमा कुनै पहल गरेको छैन । बोर्डमा अहिले हकप्रद सेयर, आईपीओ आवेदन, बोनस सेयर दर्तासहितका काम ठप्प छन्, बोर्डमा कहिलेबाट नियमित कार्य सुरु हुने हो, अनिश्चित छ ।

‘हाम्रो माग जबसम्म सरकारले सुन्दैन, काम ठप्प नै हुन्छ’ नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले भने । सञ्चालक समितिले समेत कर्मचारीको माग सम्बोधनका लागि कुनै पहल नगरेको कर्मचारीको भनाइ छ । बोर्डमा रहेका दुई संगठन कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले संयूक्त रुपमा आन्दोलन गरेका हुन् ।बोर्डका कर्मचारीलाई सरकारविरुद्ध मुद्दा दायर गरेर कानुनी बाटोबाट समाधान खोज्न सञ्चालक समितिले सुझाएको छ ।

‘सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने हाम्रो कर्तव्य हो, सो निर्णयले साँँच्चै अन्याय भएको हो भने अदालतमा मुद्दा हालेर कानुनी उपचार खोज्ने विकल्प छँदैछ’ एक उच्च अधिकारीले भने ‘यसमा कर्मचारीले सञ्चालक समितिलाई दोष दिनु हुँदैन ।’