तीन करोड भन्दा बढीको घरजग्गाको कारोबार गर्न लाइसेन्स लिन आह्वान


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
1.3K
SHARES

१३ कात्तिक काठमाडौं । सरकारले अबदेखि तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्यरूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था कार्यान्वयनमा लगेको छ ।बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको छ । विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार, महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ ।

सोही आधारमा अब एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची ८ मा उल्लिखित कागजात एवं प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन पेस गर्न भनिएको छ । इजाजत पत्र लिनको लागि मालपोत नियमावली, २०३६ को नियम २३ (ट) बमोजिम एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था)को हकमा पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।

एक पटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा दश लाख रुपैयाँ बुझाउनुपर्नेछ । घरजग्गा कारोबारीमा लाइसेन्स लिने व्यवस्थालाई व्यवसायीहरूले समेत स्वागत गर्दै आएका छन् ।