पौने ३ अर्ब बीमा दाबी भुक्तानी
१४ कात्तिक काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट भएको भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूले पौने ३ अर्बको भुक्तानी गरेका छन् । हालसम्म परेको कूल बीमा दाबी २३ अर्ब २३ करोड ३७ लाखमध्ये २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी गरिएको हो ।नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिब १९ अर्ब १ करोड ९४ लाख दाबी परेको थियो । जसमा २ अर्ब २७ करोड ११ लाख भुक्तानी गरिएको छ ।
यस्तै, मोटर बीमातर्फ २ हजार २७० दाबीको ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको ३६ करोड ७९ लाख दाबी रकममध्ये ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको ३८ करोड ७२ लाख दाबी रकममध्ये २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम १ करोड ६६ लाख रहेको छ ।
प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा ३९२ वटा दाबीको २ अर्ब ३२ करोड ४६ लाख दाबी रकममध्ये ३१ करोड ८४ लाख भुक्तानी गरिएको छ ।मधेश प्रदेशमा ३६७ वटा दाबीको ७० करोड ४ लाख दाबी रकममध्ये ४ करोड ७१ लाख र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको १७ अर्ब ६१ करोड ६२ लाख दाबी रकममध्ये २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।
गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको १ अर्ब ६९ करोड २३ लाख दाबी रकममध्ये १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको ४७ करोड ४४ लाख दाबी रकममध्ये ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको ९ करोड ९९ लाख दाबी रकममध्ये ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको ३२ करोड ६० लाख दाबी रकममध्ये २ करोड ७२ लाख दाबी भुक्तानी भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम २३ अर्ब २३ करोड ३७ लाख रहेको छ ।जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई एक अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा २ हजार ८६८ वटा पुनर्बीमा दाबीको १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी परेको छ ।