क्षतिबापत तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी
२६ कात्तिक काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरिएको छ । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी उक्त रकम भुक्तानी भएको हो ।
कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको दाबी रकम करिब १९ अर्ब चार करोड नौ लाखमध्ये दुई अर्ब ९२ करोड ८६ लाख रुपैयाँ र मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको दाबी रकम तीन अर्ब ४७ करोड सात लाखमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख दाबी रकममध्ये ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब एक करोड ६८ लाख दाबी रकममध्ये ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी गरी दाबी रकम भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको विवरण प्राधिकरणमा बुझाएको छ ।नेपाल पुनर्बिमा कम्पनीमा परेको कुल दुई हजार ८५७ वटा पुनर्बिमा दाबीको दाबी रकम १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको अद्यावधिक तथ्यांक छ ।