३० खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२
2.1K
SHARES

३० कात्तिक काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति यस वर्ष उल्लेखनीय रूपमा बढेको छ । असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको सञ्चिति असोज मसान्तमा ११.३ प्रतिशतले वृद्धि भई २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ ।अमेरिकी डलरमा हेर्दा, असारमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति असोजमा ८.७ प्रतिशतले बढेर २१ अर्ब २१ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा नेपाल राष्ट्र बैंकको हिस्सा असारमा २४ खर्ब १४ अर्ब ६४ करोडबाट बढेर असोजमा २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।अन्य बैंक तथा वित्तीय संस्थामा रहेको सञ्चिति असारमा २ खर्ब ६३ अर्ब ४ करोडबाट १८.७ प्रतिशतले वृद्धि भई असोजमा ३ खर्ब १२ अर्ब १० करोड पुगेको छ ।

यसैगरी, कुल सञ्चितिमा भारतीय मुद्रा २४ प्रतिशत रहेको छ । विदेशी विनिमय सञ्चितिमा वृद्धिले देशको आयात भुक्तानी क्षमता मजबुत भएको, मौद्रिक स्थिरता कायम रहेको र अन्तर्राष्ट्रिय ऋण भुक्तानी सहज भएको देखाउँछ । यसले नेपालको अर्थतन्त्रमा विश्वास बढाउने र विदेशी लगानीकर्ताको आकर्षण बढाउने संकेत दिन्छ ।