३६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता
४ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो चौमासिकसम्म ३६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।चालु आर्थिक वर्षको कात्तिक महिनासम्म नेपालले विभिन्न ८ उद्योग समूहहरूमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) स्वीकृति दिएको हो । उद्योग तथा लगानीका क्षेत्रअनुसार कुल ३८२ वटा परियोजना दर्ता भएका छन् ।
उद्योग विभागको तथ्यांकअनुसार, सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भए पनि लगानी रकम भने तुलनात्मक रूपमा कम अर्थात् करिब ८७ करोड ४३ लाख रुपैयाँको प्रतिबद्धता गरिएको छ ।सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वनआधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ । जहाँ १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ ।
पर्यटनतर्फ ११८ उद्योगका लागि ८ अर्ब ९४ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड, ऊर्जामूलक १ उद्योगका लागि १८ करोड, खानीक्षेत्रको १ उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागकाअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।