आयकर ऐन संशोधन गर्न अडानको माग


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
1.1K
SHARES

२१ मंसिर काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान)ले एकैघरको सगोलभित्र स्वामित्व परिवर्तन हुँदा सम्पत्ति मूल्यांकनका आधारमा कर लाग्ने प्रावधान अन्यायपूर्ण भएकाले संशोधन गर्न माग गरेको छ । आयकर ऐन, २०५८को दफा ५७ अन्तर्गत रहेको यो प्रावधानमा संशोधन आवश्यक रहेको अडानले बताएको छ । अडानको सातौँ राष्ट्रिय महाधिवेशनपछि गठित केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठकले १३ बुँदे विशेष प्रस्ताव समेत पारित गरेको छ ।

पहिलो प्रस्तावमा भाद्र २३ मा आर्थिक सुशासन तथा भ्रष्टाचारविरोधी एजेन्डा उठाइएको प्रशंसनीय भए पनि भोलिपल्ट देखिएको तोडफोड, आगजनी र त्रासपूर्ण अवस्थाले निजी क्षेत्रमा परेको असर समाधान गर्न र नागरिकलाई आर्थिक सुरक्षाको आश्वासन दिन सरकारसँग माग गरिएको छ ।

साउनबाट लागु भएका साना तथा मझौला उद्यमका लागि लेखा मानकको कार्यान्वयनमा सरोकारवालाको पर्याप्त तयारी नदेखिएको भन्दै समस्याका सम्भावित चुनौती समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

२०५८ को दफा ५७ अन्तर्गत एकैघरको सगोलभित्र स्वामित्व परिवर्तन हुँदा सम्पत्ति मूल्यांकनका आधारमा कर लाग्ने प्रावधान अन्यायपूर्ण भएकाले संशोधन गर्न माग गरिएको छ ।

चौथो प्रस्तावमा लेखापरीक्षकको समानता, गरिमा र पेसागत संरचना सुनिश्चित गर्न लेखापरीक्षक सम्बन्धी ऐन छिटो संशोधन गर्न सरकारलाई आह्वान गरिएको छ ।

प्रस्तावमा गैर–लेखापरीक्षकद्वारा भइरहेका अवैध लेखापरीक्षण कार्य तत्काल नियन्त्रण गर्न तथा सबै सदस्यलाई समान हैसियतप्रदान गर्न सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ ।

डिजिटल लेखा, प्रतिवेदन तथा वित्तीय सेवा आउटसोर्सिङमा युवाको सहभागिता बढाउन सीपमुखी र रोजगारीमुखी शिक्षा प्रणाली विकास गर्न ध्यानाकर्षण गरिएको छ ।

रोजगारीको अभावले युवा विदेशीने क्रम तीव्र बन्दै गएको उल्लेख गर्दै जलस्रोत, जैबिक कृषि, जडीबुटी, पर्यटन, हस्तकला तथा श्रमशक्तिको सदुपयोगमार्फत स्वदेशमै उत्पादन र रोजगारी बढाउन सरकारलाई अनुरोध गरिएको छ ।

संघीय संरचना कार्यान्वयनपछि संघीय, प्रादेशिक तथा स्थानीय तहमा बन्ने लेखापरीक्षणसम्बन्धी ऐन र नियमावलीमा अडानका विषय समावेश गराउन संघीय सरकारसँग समन्वय गरी सबै प्रदेश र जिल्लामा आवश्यक पहल गर्न कार्यसमितिलाई निर्देशन दिइएको छ ।