अन्डाको मूल्य हालसम्मकै उच्च
२२ मंसिर चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए ।नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार (मंसिर २३)देखि लागु हुने गरी अन्डाको नयाँ मूल्य कायम गरेको छ । त्यसानुसार ठूलो (एक्सएल) अन्डा प्रतिक्रेट (३० वटा)को ५८०, ठूलो अन्डा ५६५ र मिडिएम ५५० रुपैयाँ कायम गरिएको छ ।
गएको साउनमा यसअघि हालसम्मकै सबैभन्दा बढी ठूलो अन्डाको प्रतिक्रेट ५६० रुपैयाँ पुर्याइएको थियो । क्रमशः मूल्य घटेर ४०० रुपैयाँमा झारिएको थियो ।संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढाइएको हो । उनका अनुसार, भारतीय अन्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अन्डाले लागत मूल्य पाएको हो ।
भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अन्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अन्डा नेपाल भित्रन नपाएको उनले बताए ।उनले भने, “भारतीय सीमानाकामा कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाइ छ ।
संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार, भारतमा समेत अन्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अन्डा भित्र्याउने प्रयास समेत कम भएको उनले बताए ।अन्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६.५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दरमा अन्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाउने उनले बताए ।
पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं संघको अन्डाको बजारीकरण अभियानमा लागिरहेका राजेन्द्र लामिछाने जाडो महिनामा यसको खपत बढ्ने बताउँछन् ।हाल नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अन्डा उत्पादन हुने गरेको अनुमान छ ।