सोमालील्यान्डलाई इजरायलले दियो देशको मान्यता
१३ पुस काठमाडौं । इजरायल सोमालियाबाट छुट्टिन खोजेको प्रान्त सोमालील्यान्डलाई स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता दिने पहिलो देश बनेको छ । यो घटनापछि युरोपेली संघले शनिबार सोमालियाको भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने माग गरेको छ ।इजरायलको यो कदमलाई एक दिनअघि नै अन्तर्राष्ट्रिय रूपमा निन्दा गरिएको छ । अफ्रिकी र मध्यपूर्वका धेरै राष्ट्रहरूले सोमालियाको सीमालाई एकतर्फी रूपमा परिवर्तन गर्न नसकिने अडान दोहोर्याइरहेका छन् ।
युरोपेली संघले के भन्यो ?
युरोपेली संघका विदेश मामिलाका प्रवक्ता अनौवार एल अनौनीले यो ब्लकले भने, “फेडेरल रिपब्लिक अफ सोमालियाको एकता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुको महत्त्वलाई पुनः पुष्टि गर्छ ।”“यो सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रको शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ,” प्रवक्ताले वक्तव्यमा भने, “युरोपेली संघले सोमालील्यान्ड र सोमालियाको फेडेरल सरकारबीच लामो समयदेखिका मतभेदहरू समाधान गर्न सार्थक संवादको प्रोत्साहन गर्छ ।”
इजरायलको अवैध आक्रमण : सोमालिया
सोमालिया सरकारले इजरायलको घोषणाप्रति आक्रोश व्यक्त गर्दै यसलाई आफ्नो सार्वभौमिकतामाथिको प्रत्यक्ष आक्रमण भनेको छ ।मोगाडिसुका अधिकारीहरूले यसलाई अवैध र उद्देश्यपूर्ण प्रयास भन्दै वैधानिकता दिने प्रयत्नविरुद्ध कूटनीतिक तथा कानुनी उपायहरू अपनाउने बताएका छन् ।
राष्ट्रपति हसन शेख मोहामुदले इजरायलले अन्तर्राष्ट्रिय मान्यताहरू उल्लंघन गरेको आरोप लगाउँदै सोमालील्यान्ड सोमालियाको अभिन्न अङ्ग नै रहेको अडान व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय अस्वीकृति
धेरै सरकार र क्षेत्रीय संस्थाहरूले पनि इजरायलको कदमलाई तत्कालै अस्वीकार गरेका छन् । इजिप्ट, टर्की, जिबुटी र खाडी सहयोग परिषद्का सदस्यहरूले मान्यताको निन्दा गर्दै यसले हर्न अफ अफ्रिका र लाल सागर कोरिडोरलाई अस्थिर बनाउने खतरा रहेको चेतावनी दिएका छन् ।अफ्रिकी संघ र पूर्वी अफ्रिकी ब्लक आईजीएडीले सोमालियाका सीमाहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त र एकतर्फी रूपमा परिवर्तन गर्न नसकिने आफ्नो पुरानो अडान दोहोर्याएका छन् ।
नाइजेरिया र मध्यपूर्वका धेरै राज्यहरूले पनि पृथकतावादी क्षेत्रहरूलाई मान्यता नदिन देशहरूलाई आग्रह गर्दै वक्तव्य जारी गरेका छन् ।२० भन्दा बढी राष्ट्रहरू र इस्लामिक सहयोग संगठनको संयुक्त घोषणाले क्षेत्रीय तथा वैश्विक सुरक्षाका लागि गम्भीर परिणामहरू आउन सक्ने चेतावनी दिएको छ ।अमेरिकाले सोमालील्यान्डसहितको सोमालियाको भौगोलिक अखण्डता मान्यता दिने नीति कायम राख्ने बताएको छ ।
इजरायलले किन यो कदम चालेको हो ?
इजरायलले यो कदमलाई अब्राहम एकोड्र्सबाट प्रेरित विस्तारित साझेदारी सञ्जालको भाग भनेको छ, जसले सन् २०२० देखि इजरायल र धेरै अरब तथा मुस्लिमबहुल राज्यहरूबीच कूटनीतिक र आर्थिक सम्बन्धका माध्यमहरू खोलेको छ ।अब्राहम एकोड्र्स मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा हस्ताक्षरित र वाशिङ्टनको मध्यस्थतामा भएका थिए ।
तर, यस वर्षको सुरुआतमा ट्रम्प ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि फर्किएपछि पनि कुनै नयाँ अरब देशहरू एकोड्र्समा सामेल भएका छैनन् । गाजामा चलिरहेको युद्धले सम्भावित सम्झौताहरूलाई जटिल बनाएको छ ।
सोमालील्यान्ड सन् १९९१ देखि आफ्नै संस्था, मुद्रा र सुरक्षा बलसहित डी–फ्याक्टो राज्यका रूपमा सञ्चालन हुँदै आएको छ । इजरायलको मान्यताले दशकौँको कूटनीतिक एकान्तवास तोड्ने र अन्य देशहरूलाई पछ्याउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।