ट्रम्पका कारण चीनसँग सम्बन्ध सुधार्दै बेलायत


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२
1.7K
SHARES

१५ माघ काठमाडौं । केही समयअगाडिसम्म अमेरिकी खेमाको अनिवार्य अंगजस्तै रहेका पश्चिमी देशहरू आफ्ना हितहरूको खोजीमा एसियातर्फ लाग्न थालेका छन् । यो शृंखलामा पछिल्लो नाम बेलायती प्रधानमन्त्री कियर स्टार्मरको छ । चीनसँग राजनीतिक तथा आर्थिक सम्बन्ध मजबुत बनाउने उद्देश्यले स्टार्मर २८ जनवरीमा बेइजिङ पुगेका छन् ।

ट्रम्पले चाहे जस्तै हुँदै छ ?
यसको पछाडि सबैभन्दा ठूलो कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानिन्छ । उनको एकतर्फी व्यवहार यति धेरै र नियमित हुँदै गएका छन् कि पश्चिमी सहयोगीहरूका लागि अब आश्चर्य मान्नुपर्ने अवस्था छैन ।

विश्लेषकहरूका अनुसार पश्चिमी गठबन्धनको स्थिति डगमगाइरहेको छ । अमेरिकाका परम्परागत सहयोगीहरू समय गुमाउन नचाहँदानचाहँदै विकल्प खोजिरहेका छन् ।

उदाहरणका लागि, दुई दशकदेखि भारत र युरोपेली संघबीच व्यापारिक सम्झौतामा सहमति बन्न सकेको थिएन । तर, ट्रम्प फ्याक्टरको वार्ताको गतिका कारण सम्झौता सम्भव भयो ।

बेलायत र अमेरिका सबैभन्दा नजिकका साथी रहँदै आएका छन् । बेलायत अझै पनि अमेरिकालाई आफ्नो प्राथमिक सहयोगी मान्छ । तर ट्रम्पको दोस्रो कार्यकालमा बेलायत यो मित्रतामा पूर्ण रूपमा आश्वस्त हुन सकेको छैन ।

यही पृष्ठभूमिमा कियर स्टार्मर प्रधानमन्त्रीका रूपमा पहिलोपटक चीन पुगेका छन् । आठ वर्षपछि बेलायती प्रधानमन्त्री चीन गएका हुन् । अघिल्लोपटक मे २०१८ मा टेरेसा मे चीन गएकी थिइन् ।

आफ्नो यात्राको उद्देश्य स्पष्ट पार्दै स्टार्मरले चीनले प्रदान गर्ने आर्थिक अवसरहरूलाई बेवास्ता गर्न बेलायतका लागि सम्भव नरहेको बताएका छन् । बेइजिङ जाँदा आफ्नो विमानमै पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “चीनसँग संवाद गर्नु हाम्रो हितमा छ । यो यात्रा हाम्रा लागि वास्तवमै महत्वपूर्ण हुनेछ र हामी वास्तविक प्रगति गर्नेछौँ ।”

चीन र बेलायत स्वाभाविक सहयोगी होइनन् ?
औपनिवेशिक विगत र समसामयिक सम्बन्धको बोझले चीन–बेलायत सम्बन्धको स्वभाव निर्धारण गर्दै आएको छ । यसमा हङकङ पनि एउटा कारक हो, जुन पहिले बेलायतको नियन्त्रणमा थियो ।

त्यहाँ राजनीतिक स्वतन्त्रताको दमन र मानवअधिकार तथा लोकतान्त्रिक अधिकारहरूको अवस्थाले दुवै देशबीचको सम्बन्धमा रुखोपन ल्याउँदै आएको छ । त्यसमाथि युक्रेन युद्ध सुरु भएपछि रुसका लागि चीनको समर्थनले दुवै देशका हितहरूलाई थप विरोधाभासी बनायो ।

फाइभजी नेटवर्क उपलब्ध गराउने चिनियाँ कम्पनीहरूप्रति गहिरो अविश्वास बेलायतको सुरक्षा चिन्ताको एउटा प्रमुख पक्ष हो । बेलायतले चीनलाई आफ्नो सुरक्षाका लागि ठूलो जोखिमका रूपमा हेर्छ । चीनले उनीहरूका अधिकारी र नेताहरूको जासुसी गराउने, बेलायतको सार्वजनिक जीवनमा हस्तक्षेप गर्ने तथा आलोचक र विरोधीहरूलाई धम्क्याउने प्रयास गरेको बेलायती गुप्तचर सेवाहरूको आरोप छ ।

यस्ता मुद्दा र आरोप–प्रत्यारोपहरूले वर्षौंदेखि दुवै देशका सम्बन्धलाई दिशा दिँदै आएका छन् । बेलायती गुप्तचर एजेन्सी एमआई–५ का प्रमुख केन म्याक्क्यालमले बेलायतको राष्ट्रिय सुरक्षाका लागि चीनका स्टेट एक्टरहरू जोखिमका रूपमा रहेको बताएका थिए ।

यस्तो अवस्थामा स्टार्मरको यात्रा चीन–बेलायत सम्बन्धमा ताप ल्याउने एउटा महत्वपूर्ण मोड बन्न सक्छ । यद्यपि, स्टार्मरले चीनबाट प्राप्त हुने आर्थिक अवसरका लागि उनी राष्ट्रिय सुरक्षासँग कुनै सम्झौता नगर्ने प्रष्ट पारेका छन् ।

स्टार्मरको चीन यात्रामा ट्रम्प फ्याक्टर हावी ?
ट्रम्पको रवैया र युरोपेली देशहरूप्रतिको उनको अपमानजनक व्यवहार स्टार्मरको चीन यात्राको प्रमुख पृष्ठभूमि मानिएको छ । स्टार्मरको छवि यस्तो नेताको छ, जसले गहिरो तनावबीच पनि अमेरिकासँग सहयोग जारी राख्न आफ्नो कूटनीतिक कम्पास मिलाएर अघि बढ्छन् । धेरै झट्का र सार्वजनिक आक्रोशका बावजुद उनी ट्रम्पप्रति सधैँ नापतौल गरेर बोल्दै आएका छन् ।

तर, पछिल्ला दिनहरूमा तीन यस्ता घटना भए, जहाँ स्टार्मरको रवैया अपेक्षाकृत कडा देखियो । पहिलो, ग्रीनल्यान्डसँग सम्बन्धित मुद्दा हो, जहाँ ट्रम्पले त्यहाँ सैन्य अभ्यासका लागि सैनिक पठाउने युरोपेली देशहरूमाथि ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।

त्यसपछि ट्रम्पले चागोस टापु समूहलाई मोरिससको सार्वभौमिकतामा फर्काउने विषयमा बेलायतको सार्वजनिक आलोचना गरे । यसबाहेक, अफगानिस्तानमा नेटो सैनिकहरूको योगदानमाथि ट्रम्पको टिप्पणीले पनि असहज स्थिति सिर्जना गर्‍यो ।

धेरै नेताहरू अमेरिकाको परिवर्तित प्राथमिकताबीच अब युरोपेली ब्लकका लागि अन्य स्थानमा आफ्ना हित खोज्नु अनिवार्यजस्तै भएको बताउँछन् ।

हालै डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरममा पनि यो धारणा बारम्बार सुनिन्थ्यो । युरोपेली कमिसनकी अध्यक्ष उर्सुला फन डेर लाएनले पत्रकारहरूसँग भनिन्, “हामीले स्वतन्त्र युरोपका रूपमा काम गर्नुपर्छ ।”
पोलिटिकोमा प्रकाशित एउटा लेखमा १७ जना विज्ञहरूले विश्व कसरी अमेरिकाबाट टाढिँदै नयाँ अवसरहरू खोजिरहेको छ भन्ने उल्लेख गरेका छन् ।

सोही लेखमा ‘कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिस’का सिनियर फेलो स्टुअर्ट प्याट्रिक लेख्छन्, “हामीले चिनेको विश्वव्यापी व्यवस्था अब मरेको छ । ट्रम्प प्रशासन यसको हत्यारा पनि हो र अन्त्येष्टिको जिम्मेवार पनि । पुराना सहयोगीहरू पनि अब यो सत्यसँग परिचित छन् । अमेरिका एक शिकारी सुप्रिम लिडर बनेको छ ।”

प्याट्रिकका अनुसार ट्रम्पको पहिलो कार्यकालदेखि नै उत्तरी र दक्षिणी गोलार्धका देशहरूले आफ्नो कूटनीतिक पोर्टफोलियोमा विविधता ल्याउन थालेका थिए । ट्रम्पको दोस्रो कार्यकालको दोस्रो वर्ष सुरु हुँदासम्म यी प्रयासहरू उच्च गियरमा पुगेका छन् । यसै सन्दर्भमा बेलायतजस्ता युरोपेली देशहरू आर्थिक तथा सुरक्षा समीकरणमा विविधता ल्याउने प्रयास गरिरहेका छन्, तर हालका लागि ट्रम्पलाई सिधै रिस नउठाउने रणनीतिमा पनि छन् ।

यद्यपि, ट्रम्पको राजनीतिक शैलीअनुसार यो सजिलो छैन । पूर्वविदेश सचिव जेरेमी हन्टले बीबीसीसँगको कुराकानीमा भनेझैँ प्रधानमन्त्रीका सामु साँच्चिकै कूटनीतिक चुनौती छ, “चीनसँग बढी व्यापारले फाइदा त पुर्‍याउँछ, तर यसमा ठूलो जोखिम पनि छ ।”

स्टार्मरले पनि निरन्तर के भन्दै आएका छन् भने अमेरिका–बेलायत सहकार्यको इतिहास पुरानो र समृद्ध छ । ग्रीनल्यान्ड मुद्दामा ट्रम्पले ट्यारिफ घोषणा गर्दा विरोध जनाउँदै स्टार्मरले बेलायत–अमेरिकाबीचको गहिरो सम्बन्धको स्मरण गराए । चीन जाँदा पनि उनले दोहोर्‍याए, “अमेरिकासँग हाम्रो सम्बन्ध हाम्रा सबैभन्दा नजिकका सम्बन्धमध्ये एक हो । रक्षा, सुरक्षा, गुप्तचर सेवा र व्यापारसहित धेरै क्षेत्रमा यो फैलिएको छ ।”

चीनप्रति स्टार्मरमाथि घरेलु दबाब
चीन जाने महत्वलाई जोड दिँदै स्टार्मरले बेलायतको आर्थिक विकासलाई गति दिन र जीवनस्तर सुधार्ने आफ्ना योजनाहरू पूरा गर्न यो सहयोगी हुने बताएका छन् । तर, उनको यो रणनीतिमाथि देशभित्र र बाहिर खासगरी अमेरिकामा यसको आलोचना भइरहेको छ ।

चीन र बेलायतका राजनीतिक व्यवस्थाबीचको आधारभूत भिन्नता पनि शंकाको ठूलो कारण बनेको छ ।

बेइजिङप्रतिको अविश्वासबीच स्टार्मरले चीनबाट आउने सम्भावित सुरक्षा जोखिमलाई कम आँकेको आशंका पनि गरिएको छ ।

विपक्षी कन्जर्भेटिभ पार्टीकी नेतृ केमी बाडेनकले भनिन्, “चीनको विषयमा किएर स्टार्मर अत्यन्त कमजोर देखिन्छन् । हामीलाई चीनसँग सम्बन्ध चाहिन्छ, तर चीन लोकतन्त्रमा विश्वास गर्दैन । यसले हाम्रा सांसदहरूमाथि प्रतिबन्ध लगायो, वैश्विक व्यापारिक व्यवस्थामा बाधा पुर्‍याउँछ र ताइवानमाथि आफ्ना योजना राखेको छ ।”

स्टार्मरमाथि चिनफिङसँगको वार्तामा केही विशेष मुद्दा उठाउन दबाब छ । यसमा तीन विषय महत्वपूर्ण मानिन्छन् । पहिलो, लोकतन्त्र समर्थक कार्यकर्ता जिमी लाइको कैद । जिमी बेलायती नागरिक हुन् र उनीमाथि मुद्दा चलाउने तथा सजाय दिने प्रक्रियामा गम्भीर प्रश्न उठेका छन् ।

बेलायतमा एउटा वर्गले स्टार्मरबाट दृढतापूर्वक जिमी लाइको रिहाइको माग उठाउने अपेक्षा गरेको छ । यसबाहेक, चिनियाँ नेतृत्वसँग युक्रेन युद्धबारे स्पष्ट कुरा राखी रुसमाथि युद्ध अन्त्यका लागि दबाब दिन आग्रह गर्नुपर्ने मत पनि छ । तेस्रो, उइगुर अल्पसंख्यकको मुद्दा पनि उठाइनु पर्ने भनाइ छ ।

स्टार्मरले यी मुद्दाहरू उठाउने वा नउठाउने विषयमा कुनै स्पष्ट संकेत दिएका छैनन् । बरु चीन प्रस्थान गर्नुअघि यसबारे प्रश्न सोध्दा उनले जवाफ दिन अस्वीकार गरे । चिनियाँ नेताहरूसँग कुन–कुन मुद्दामा कुरा गर्ने भन्नेमा पनि उनी हिच्किचाएका देखिए ।उनले भने, “विगतमा मैले गरेका सबै यात्रामा मैले उठाउनुपर्ने मुद्दाहरू उठाएकै छु । तर, पहिले नै ती विवरणबारे सार्वजनिक रूपमा कुरा गर्दिनँ ।