इरानको स्टिल उद्योगमाथि हमला : अर्थतन्त्रका लागि ठूलो धक्का साबित हुने खतरा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२
1.2K
SHARES

२२ चैत काठमाडौं । इरानका दुई ठूला स्टील उत्पादक इस्फहानको मोबारकेह स्टील र अहवाजको खुजेस्तान स्टीलमाथि भएको अमेरिकी र इजरायली बमबारीले इरानी जनतामा तीव्र आक्रोश र चिन्ता पैदा गरेको छ ।  इरानको तेलपछिको सबैभन्दा ठूलो आम्दानीको स्रोत मानिने स्टिल क्षेत्रमा भएको यो आक्रमणले केवल भौतिक संरचना मात्र भत्काएको छैन, बरु इरानको भविष्यको आर्थिक वृद्धिलाई नै अनिश्चित बनाइदिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । यो हमला केवल सैन्य नभई इरानको आर्थिक मेरुदण्डमाथि गरिएको प्रहारका रूपमा हेरिएको छ ।

सन् २०२५ मा इरान विश्वकै शीर्ष कच्चा स्टिल उत्पादकमध्ये एक थियो, जसको वार्षिक उत्पादन करिब ३.१८ करोड टन थियो । इरानको मोबारकेह स्टिलले मात्र मार्च २०२५ देखि जनवरी २०२६ को बीचमा विदेशमा स्टिल बेचेर ८६ करोड डलर कमाएको थियो । खुजेस्तान स्टिलमा मात्र करिब १० हजार मजदुर कार्यरत छन्, जसको रोजीरोटी अहिले संकटमा परेको छ ।

हमलाले गम्भीर असर पुर्‍याएको ‘आर्गस मिडिया’ र ‘द वाल स्ट्रीट जर्नल’का रिपोर्टहरूले जनाएका छन् । स्टील बनाउन निरन्तर बिजुली चाहिन्छ । पावर प्लान्ट र सब–स्टेसनमा हमला हुँदा उत्पादन ठप्प भएको छ । बिजुली काटिँदा तातो फलाम मेसिनमै जमेर करोडौँको थप क्षति हुने जोखिम बढेको छ ।

अमेरिका र इजरायलले यी प्लान्टहरूलाई ‘सैन्य निसाना’ मान्नुको पछाडि इरानी सरकार र आईआरजीसीको आर्थिक सञ्जाल तोड्ने उद्देश्य रहेको बताइएको छ । अर्थशास्त्री हसन मन्सुरका अनुसार, कारखानाका बिजुली उत्पादन गर्ने एकाइमा सीधा प्रहार भएको छ ।

अमेरिकी र इजरायली आक्रमणका कारण प्रारम्भिक अनुमानअनुसार पाँचदेखि ६ अर्ब डलरको प्रत्यक्ष क्षति भएको छ । तर, यसले निर्माण र उत्पादन क्षेत्रमा पार्ने दीर्घकालीन असर त्योभन्दा धेरै बढी हुने बताइएको छ ।

स्टिल उद्योग धराशयी हुनुको अर्थ इरानका हजारौँ साना कारखानाहरू कच्चा पदार्थको अभावमा बन्द हुनु बताइएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद इरानले स्टिल निर्यात गरेर अर्थतन्त्र धानेको थियो, जुन अब लगभग असम्भव भएको बताइएको छ ।

इरानी अर्थशास्त्रीहरूका अनुसार, युद्ध लम्बिएसँगै विकासका लागि छुट्याइएको बजेट सैन्य गतिविधिमा खर्च भइरहेको छ । इरानले अहिले प्रत्यक्ष युद्धको क्षति, अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र मुद्रास्फीति (महँगी) र आर्थिक अव्यवस्था गरी तीनवटा मोर्चामा लड्नु परिरहेको छ ।

यदि राजनीतिक परिवर्तनबिना नै युद्ध सकियो, यदि युद्धपछि पनि आर्थिक प्रतिबन्धहरू जारी रहे, उद्योगहरू पुनरुत्थान हुन सकेनन् भने इरानका दक्ष इन्जिनियर र कामदारहरूले देश छोड्ने खतरा बढेको बताइएको छ । जसले अर्थतन्त्र पुनरुत्थान गर्न झन् कठिन बनाउनेछ ।

के पुनरुत्थान सम्भव छ ?
आर्थिक विश्लेषक अलीरेजा सलावतीका अनुसार, यदि क्षति प्राविधिक मात्र हो भने केही महिनामा मर्मत गर्न सकिन्छ । तर, यदि मुख्य मेसिनरीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने, नयाँ प्रविधि भित्र्याउन प्रतिबन्धका कारण असम्भव हुन सक्छ । यस्तो अवस्थामा इरानले आफ्नै स्टिल उत्पादन गर्नुभन्दा बाहिरबाट आयात गर्नु सस्तो पर्न सक्छ, जसले इरानलाई पूर्ण रूपमा परनिर्भर बनाउनेछ ।