आफ्नै दस्तावेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्ला – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ५ २०८३
836
SHARES

५ जेठ काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूहरूले बहुलवादी लोकतन्त्रमा विश्वास गर्ने भएकाले फरक मतको सम्मान गर्ने बताएका छन्।बजेटका प्राथमिकतामाथि छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सबै राष्ट्र निर्माणको साझा उद्देश्यमा बाँधिएको भएकाले गन्तव्यमा धेरै विवाद नभएको बताए।

उनले भने, ‘एउटा सुशासित, समुन्नत नेपालको चाहना हामी सबैको हो। अर्थतन्त्रको आकार बढोस्, सम्मानजनक रोजगारी र औसत प्रतिव्यक्ति आयमा वृद्धि होस्, राज्यले सामाजिक न्यायको पक्षमा गर्न सक्ने लगानीको सामर्थ्य बढोस्, अन्तर्राष्ट्रिय प्रतिष्ठा र आत्मसम्मान कायम होस्। अब त्यहाँ पुग्ने बाटोमा चाहिँ केही विमति हुन सक्छ। साध्य र गन्तव्यमा विमति नहोला, पुग्ने बाटोमा चाहिँ जरुर केही विमतिहरू छन्।’

विगत ३० वर्षकै नीति, शासकीय शैली र चरित्र ठिक भएको भए राजनीतिमा पुस्तान्तरण र आर्थिक–सामाजिक क्षेत्रमा यति बेग्लै रूपान्तरणको माग नै नहुने उनको भनाइ छ। पछिल्ला ३ दशकमा नेपाल, नेपाली नागरिक र समग्र अर्थतन्त्रले कुशासनको कति ठुलो मूल्य चुकाएको बताए। उनले भने, ‘हामीले सुशासनको लाभांश थिति बसाउने सङ्कल्पजस्ता अवधारणाहरूलाई अगाडि सारेका छौँ। गत भदौ २३ र २४ को विस्फोट अनि फागुन २१ को आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार अनुसार नै हामीले प्रस्तुत गरेका हौँ।’

निर्वाचन लड्नुभन्दा अगाडि रूपान्तरणका सय आधारहरू भनेर वाचापत्रमा उल्लेख गरेको स्मरण गरे। जनताले अनुमोदित गरेपछि १०० वटा शासकीय सुधारको मार्गचित्र, नीति तथा कार्यक्रम र अहिले बजेट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता आएको बताए।

उनले विपक्षीलाई भने, ‘अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नु पर्ला। तर यति भन्दै गर्दा पनि संविधानप्रतिको हाम्रो बफादारीबारे आधारहीन संशय छरिएको छ। संविधानमा मन नपरेका प्रावधानहरूलाई फेर्न परे पनि यही संविधानकै धारा २७४ र धारा २७५ टेकेर मात्रै गर्छौँ भन्ने कुरा फेरि हामीले वाचापत्रमा उल्लेख गरेका छौँ। त्यसैले संविधानप्रति हाम्रो प्रतिबद्धता छ।’