निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै
३० पुस काठमाडौं । निर्वाचन आयोगले डाकेको सर्वदलीय बैठक आज बस्दैछ । राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक डाकेको हो । बैठक आज बिहान ११ बजे बस्दैछ ।
आज बस्ने बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलहरुसँग छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन । आयोगले राष्ट्रिय सभाको निर्वाचनमा पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम राख्दै निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको समेत बताएको छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले सर्वदलीय बैठकबाटै दलहरुको राय लिने निर्वाचन आयोगको तयारी छ । आयोगले माघको पहिलो साताभित्र निर्वाचनको मिति नतोकिए वैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसकिने बताउँदै आएको छ ।