आयोगको निर्देशन मान्दैनौं – अध्यक्ष राप्रपा


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ९ २०७८
8.2K
SHARES

९ माघ काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचन आयोगको पत्रको सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ। आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र, राजसंस्था र झन्डाबाट गाई हटाउन निर्देशन दिएपछि राप्रपाले यस्तो निर्णय गरेको हो।

आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आयोगले माघ ३ गते पठाएको पत्रको सम्बन्धमा छलफल गरेको हो। राप्रपाले निर्वाचन आयोगको निर्णय संविधानको मर्म र भावना विपरीत रहेको, निर्वाचन सम्बन्धमा आयोग पूर्वाग्रही देखिएको भन्दै त्यसको कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो।

बैठकपछि महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय भएको छ।’ कुनै पनि राजनीतिक दललाई विचारको आधारमा प्रतिबन्ध लगाउन नपाइने व्यवस्था रहेको हुँदा अनावश्यक विषयमा प्रश्न उठाउने अधिकार आयोगलाई नरहेको राप्रपाको निष्कर्ष छ।