पाँच दलीय गठबन्धनको निरन्तरता आवश्यकता हो – अध्यक्ष केसी


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १३ २०७८
2.3K
SHARES

१३ माघ काठमाडौं। राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएको छ। बुधवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।

‘यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौं,’ केसीले विज्ञप्तिमा भनेका छन्। राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट नेकपा एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको अध्यक्ष केसीले उल्लेख गरेका छन्।

२०६२/६३ सालका उपलब्धिहरूलाई समाप्त गर्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय जनमोर्चाले राजावादी शक्तिहरूले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गरिरहेका र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरूले समर्थन गरिरहेको बताएको छ।‘…प्रतिगमनका लागि यी दुइटै धारा एक आपसमा मिल्ने खतरा बढिरहेको देखिन्छ। अर्कोतर्फ चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरेर गणतन्त्रको नाममा देशमा फाँसीवाद कायम गर्न षड्यन्त्र भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

बुधवार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन्।