सहिद दिवसले हौसला प्रदान गरोस् – राष्ट्रपति
१६ माघ काठमाडौं। शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन्। राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन्।
शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनुपर्ने बताइन्।
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ।
यस्तै, प्रधानमन्त्री देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन्।
शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले शहीद दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिंड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।
वि.सं. २००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२र६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको शुभकामना सन्देशमा उल्लेख छ।