राष्ट्रपतिबाट कलाकार लामाको निधनप्रति दुःख व्यक्त


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८
5.9K
SHARES

११ फागुन काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक गायक तथा कलाकार जयनन्द लामाको निधनमा दुःख व्यक्त गरेकी छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

“कलाकार लामाको बुधबार बिहान भक्तपुरको मध्यपुरथिमि–१, लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए । लामाका ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘सलल पानी’, ‘लाउरे गगनको’, ‘पानीमुनि घुमाउने साँचो’ लगायत थुप्रै लोकगीत चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
यस्तै ‘मनको बाँध’, ‘छक्कापञ्जा’ लगायत चलचित्रमा अभिनय गरेका लामा पछिल्लो समय हास्य टेलिचलचित्र ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।