नेपथ्यको कोरोनाकालपछि पहिलो कन्सर्ट
२४ चैत काठमाडौ । नेपालको चर्चित सांगीतिक समूह नेपथ्य पुनः प्रशंसकसम्म पुग्ने तयारीमा जुटेको छ । नेपथ्यले कोरोनाकालपछि पहिलोपटक कन्सर्ट गर्न लागेको हो ।
कन्सर्ट पूर्वको सहर दमकमा हुने भएको छ । आउँदो वैशाख १ गते दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट हुनेछ ।“यसपालि हामीले संगीतप्रेमी दर्शक उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौँ,” ब्यान्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, “नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने हाम्रो जमर्को हुनेछ ।”
नेपथ्यका गायक अमृत गुरुङले नयाँ वर्षको दिन दमकमा हुने आफूहरूको कन्सर्टले नयाँ दिनको स्वागत गरी कोरोनाकालमा भएका तिता अनुभवलाई बिर्साउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । कन्सर्टमा नेपथ्यका चर्चित गीत र केही नयाँ प्रस्तुत गर्ने तयारी छ ।