सार्वजनिक ऋण बढेको बढ्यै
१ भदौ काठमाडौं । सार्वजनिक ऋणको ग्राफ बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक हेर्दा २०८० असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण रु.२२१८ अर्ब ५४ करोड पुगेको छ ।
जसमध्ये वाह्य ऋण रु.१०९३ अर्ब ३५ करोड र आन्तरिक ऋण रु.११२५ अर्ब १९ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले रु.२५६ अर्ब आन्तरिक ऋण परिचालन गरेको छ भने रु.११५ अर्ब ९ करोड साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा रु.१४० अर्ब ९० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले रु.१०२ अर्ब १२ करोड वाह्य ऋण परिचालन गरेको छ ।