‘वरिष्ठ बलराम’ प्रतिष्ठा खोस्ने र जोगाउनेबीचको संघर्ष – दयाहाङ र विजय


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
2.2K
SHARES

२३ असोज काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’का कालाकारहरूले  प्रतिष्ठा जोगाइराख्ने र खोस्नेबीचको संघर्षको कथा नै सिनेमाको मुल कथा भएको बताएका छन् । समाजमा रहेको इज्जत जोगाउने र खोस्ने दुई व्यक्ति र उसको समूहबीचको संघर्ष नै चलचित्रमा रहेको कलाकारहरूले प्रष्ट पारेका छन् । अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथामा केन्द्रित चलचित्र भएको बताएका छन् । उनी आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उनले बताए ।

“समाजमा जो व्यक्तिको वरिष्ठको पहिचान वा प्रतिष्ठा छ, त्यो उसले कहिल्यै पनि गुमाउन चाहँदैन, अरुबाट खोसिएको हेर्न सक्दैन,” दयाहाङ भन्छन्, “त्यही क्रममा कसैले उसको वरिष्ठको इज्जत वा प्रतिष्ठा खोस्न खोजेपछि हुने संघर्षको कथामा हाम्रो चलचित्र बनेको छ ।”  मान्छेको भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् । त्यस्तै व्यक्तिको चरित्र उनले यो चलचित्रमा निभएका छन् ।

“मान्छे जस्तो सुकै होस्, आवरणमा मात्रै भए पनि समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो,” दयाहाङ भन्छन्, “यो चलचित्रमा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।”आफ्नो चरित्र र चाहनामा टक्कर दिँदै अर्को पात्र पनि आफू वरिष्ठ देखिने लोभमा आएपछि दुई व्यक्तिबीच हुने संघर्ष चलचित्रमा देख्न सकिने उनी बताउँछन् ।

कलाकार विजय बरालले ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचले सिर्जना गर्ने संघर्षको कथा भएको बताएका छन् । ‘वरिष्ठ बलराम’का मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू ‘बले’ पात्रका रूपमा रहेको विजयले बताएका छन् ।

“सिनेमाको नाम कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने ट्रेलरमा केही कुरा थाहा होला,” विजय भन्छन्, “तर, चलचित्रमा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।”
नायिका समृद्धि अर्यालले दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि प्रभावकारी उपस्थिति हुने बताएकी छन् ।

“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ,” सम्वृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने भूमिका छ ।” चलचित्रमा रहेको आफ्नो ‘कुशुम’पात्र कति लोकप्रिय हुन्छ भन्न नसके पनि ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले आफ्नो सिने करिअरमा सहयोग गर्ने उनको विश्वास छ ।

दयाहाङ राईले ‘वरिष्ठ बलराम’मा केही फरक गेटअपमा आफू देखिएको बताए । यो चलचित्रको उनको क्यारेक्टरले यसअघिका लोकप्रिय चरित्रहरू ‘काजी’, ‘गोफ्ले’लगायतलाई पछि पार्न कठिन हुनसक्ने तर त्यो सम्भावनालाई नकार्न भने नसकिने बताए ।

“कहिलेकाहीँ सामान्य भनिएको चरित्र पनि सोचेभन्दा धेरै लोकप्रिय हुन्छ,” दयाहाङ भन्छन्, “त्यसैले यो सिनेमाको क्यारेक्टरको पनि सम्भावना छैन त भन्न सकिन्न । तर, मैले त्यसरी सोचेको छैन ।”

विजय ‘वरिष्ठ बलराम’को आफ्नो क्यारेक्टर लोकप्रिय पनि हुनसक्ने तर यसअघिको ‘पूर्ण बहादुरको सारङ्गी’को ‘पूर्णे’ क्यारेक्टर धेरै रुचाइएकाले पनि त्यसलाई उछिन्न भने कठिन हुनसक्ने उनी बताउँछन् ।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारको अभिनय छ ।निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । चलचित्रमा मनकृष्ण महर्जनको छायांकन रहेको छ ।