संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार नभए कागजमात्रै बन्नेछ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ३ २०८३
380
SHARES

३ असोज काठमाडौ । प्रधानमन्त्री बालेन शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील नभए त्यो एउटा कागज मात्रै बन्ने बताएका छन्।

संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै यसलाई चलाउने हात इमानदार हुनुपर्ने बताएका हुन्।

‘तर एउटा कुरा हामीले कहिल्यै बिर्सनुहँदैन। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागजमात्रै बन्नेछ,’ उनले भने।

उनले  संविधानले नेपाली जनतासँग गरेका बाचाहरू कानुनी राज्यका लागि सर्त नभई राष्ट्रिय जीवनको आधार रहेको बताएका छन्।

‘संविधानले एउटा बाचा गरेको छ। विविधताबीचको एकता सबै प्रकारको विभेद र असमानताको अन्त्य र विकास, समृद्धी एवम् सामाजिक न्यायको आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवअधिकार र कानुनी राज्य हाम्रा लागि सर्त होइनन्। राष्ट्रिय जीवनको आधार हो,’ उनले भने। उनले भ्रष्टाचार र दण्डहिनताको जरो गहिरो रहेको पनि बताए।