महानवमीमा मात्रै खुला हुने तलेजु भवानीमा भक्तजनको भिड


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०८३
95
SHARES

३ कार्तिक काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर बिहानैदेखि भक्तजनको भिड लागेको छ ।महानवमीका दिन मात्रै दर्शनका लागि खुला हुने भएको उपत्यकामा रहेका भक्तजन बिहानै ५ बजे मन्दिर पुगेका हुन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाले आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरेको हो ।

तलेजु भवानीलाई असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । तलेजु भवानीलाई त्यसै दिन बिहान १०ः३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे यात्रा गराउँदैछ । त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।