उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै
१५ कात्तिक काठमाडौँ । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित हुने भएको छ। दुवै पार्टीबिच भोलि मंगलबार (कात्तिक १७ गते) औपचारिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको हो।कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो १ बजे आयोजना गरिने विशेष एकता सभामार्फत पार्टी समायोजनको घोषणा गरिने जानकारी दिइएको छ।
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी नेतृ भुजेलको अगुवाइमा छुट्टै राष्ट्रिय भेला आयोजना गरिएको थियो । सोही भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई तीव्र बनाउने उद्देश्यसहित यो समायोजन हुन लागेको बताइएको छ। यस एकतासँगै दुवै पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एउटै राजनीतिक सङ्गठनमा गोलबन्द हुनेछन् ।