जातको कारण कोठा नदिएकि बबरमहलकी प्रधान पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ६ २०७८
7.9K
SHARES

६ असार काठमाडौ । जातको कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। ‘हामीले घरबेटीविरूद्ध अस्ति शुक्रबार नै पक्राउ अनुमति लिएका थियौं,’ उनले भने।

रूपाले पनि घरबेटी पक्राउ परेकोबारे आफूले थाहा पाएको बताएकी छन्। आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्।  आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।

भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्।