रुदानेको टिजर सार्वजनिक


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १३ २०७८
6.8K
SHARES

१३ असोज काठमाडौ । विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने :विद्रोहको नेपाली नाम को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले  बुधबार  ओएसआर डिजिटल मार्फत टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने  गरि काम अगाडी बढिरहेको जनाएको छ ।

फिल्म रुपचन्द्र विष्टको  जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमाणर् गरिएको हो । रुदाने अमित किशोर सुवेदी  र विकास ढकालले संयुक्त  अनुसन्धान,लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियसनले  निर्माण गरेको फिल्मका  प्रमुख कार्यकारी  निमार्ता जागृत रायमाझि हुन् भने सह निर्माता भानुभक्त थापा र सहायक निर्माताहरुमा पदम केशर कटुवाल  र सहदेब प्रसाद सापकोटा रहेका छन् ।  

फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्य देबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ,रवि गिरि ,सुभाष गजुरेल,अम्बर सुवेदि ,सरोज अर्याल , आलोक थामी , नमिता तामाङ्ग, परिक्षित बिक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल  , आइ. पि आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रुपचन्द्र विष्ट विद्रोही दार्शनिक,राजनितिज्ञ र निमुखा जनताका आवाज मात्रै पनि थिएनन्  शिक्षक, समाज सुधारक लगायतका अन्य थुप्रै विशेषण उनको नामसँगै जोडिएर आउँछन् । सन् १९८० को दशकमा विष्टले थाहा  दर्शन प्रतिपादन गरे र पछि त्यहि थाहा दर्शनलाई नै आधार बनाएर जनता जगाउने आन्दोलन थाहा आन्दोलन नै चलाए । रुदाने रुपचन्द्रले आफैलै आफैलाई दिएको नाम हो , जसको पूणर् रुप हुन्छ रु -रुप,दा-दामन, ने-नेपाल ।

 

लेखक तथा निर्देशकद्वयले बर्सौ सम्म रुचपन्द्र विष्ट माथि  गहिरो अध्ययन अनुसन्धान गरि रुदाने:विद्रोहको नेपाली नाम तयार पारेको निर्माण पक्षले जनाएको छ । फिल्म मार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता चिन्दै नचिनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको बताइएको छ ।

मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत समाज रुपान्तरणका लागी  सम्पूर्ण जीवन  नै थाहा आन्दोलन मार्फत जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नाम हो । २०४० को  दशकमा नेपालमा लोकप्रियताको शिखरमा रहेको  रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ । यो चलचित्र जीवनको अन्तिम सम्मै जनताकै भएर बाँचेका विष्ट प्रति समर्पित गरिएको छ ।