यी १० जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १७ २०७८
5.9K
SHARES

१७ पुस काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिवार विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले उनीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ। मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले पौडेलसँगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन्। निधि र सिंह सभापतिका उम्मेदवार थिए। दोस्रो चरणको निर्वाचनमा दुवैले देउवालाई समर्थन गरेका थिए। गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन् भने महत महामन्त्रीमा पराजित भएका थिए।

काँग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ। महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटतम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ।