यस्तो निर्णय गर्दै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ७ २०७८
8.3K
SHARES

७ माघ काठमाडौं । सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तहका प्रतिनिधिको पदावधिबारे कानुनविद्हरूसँग छलफल गर्ने निर्णय गरको छ  । शुक्रबार बालुवाटारमा बसेको बैठकमा ०७४ सालमा तीन चरणमा स्थानीय चुनाव भएकाले कुन मितिबाट स्थानीय तहका प्रतिनिधिहरूको पदावधि सुरु भएको मान्ने भन्नेबारे द्विविधा रहेकाले यसबारे विज्ञहरूिसँग छलफल गरेर निष्कर्ष निकाल्ने सहमति भएको हो ।

२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि २०७९ जेठ ५ मा सकिँदै छ । तर, ३१ वैशाख २०७४ मा पहिलो, १४ असार २०७४ मा दोस्रो र २ असोज २०७४ मा तेस्रो गरेर तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले सबैको पदावधि एकैपटक सकिने वा के हुन्नेबारे द्विविधा रहेको सत्ता गठबन्धनको भनाइ छ ।बैठकमा तीनै तहको निर्वाचन एकैचोटी गर्नेबारे पनि छलफल भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारयणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, दुर्गा पौडेलसहितका नेताहरू सहभागी थिए । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने दबावमा छ ।