नबिल बैंकले भीआरएस ल्याउने


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २५ २०८०
2.2K
SHARES

२५ साउन काठमाडौं । मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो । यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले फेरी भीआरएस ल्याउने तयारीमा रहेको बताए । साविक नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभेपछि नबिल बैंकले तेस्रो पटक भीआरएस सुविधा जारी गर्ने तयारी थालेको हो । नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।

अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश एनबी बैंकका थिए ।‘साविक एनबी बैंकले भीआरएस ल्याएर गाभेको हो, एनबी बैंकलाई गाभेपछि पनि फेरी भिआरएस ल्याएका थियौं, फेरी पनि नबिल बैंकले भीआरएसको तयारीमा छौं,’ उनले भने, ‘यसअघि २ पटक भीआरएस जारी गर्दा ७० जना बाहिरीएका थिए, बाहिरीने सबै कर्मचारी एनबी बैंकका थिए ।’ ,तर, उनी नबिल बैंकमा ओभरस्टाफ नभएको बताउँछन् । एउटै पदमा दुई जना भएपछि एक जनालाई भीआरएस सुविधा दिएर बिदा गर्नु स्वभाविक रहेको उनको भनाइ छ ।

‘भीआरएस सबै कर्मचारीलाई भन्दा पनि टप एक्जिक्यूटिभ अर्थात् सिनियर तहका कर्मचारीका लागि निकालिन्छ किनभने एउटै विभाग प्रमुखमा २ जना चाहिँदैन,’ उनले भने, ‘एचआर, आइटी, फाइनान्स लगायतको विभागमा २ जना हेड चाहिँदैन, त्यसैले भीआरएसको माध्यमबाट कर्मचारी निकाल्नु स्वभाविक हो ।’ उनका अनुसार नबिल बैंकमा ओभर स्टाफ नभएपनि टप हेडिङमा काँटछाँट गर्ने तयारी गरिरहेको छ । नबिल बैंकमा हाल २ हजार ४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।