बैंकको कर्जा प्रवाह ३.८ प्रतिशत मात्रै बढ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १ २०८०
5.2K
SHARES

१ भदौ काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा कमी आएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ३.८ प्रतिशत मात्रै बढेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा १३.१ प्रतिशत कर्जा प्रवाह बढेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ ।

गत असारमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।