चालू खाता १३० अर्बले बचतमा
२९ असोज काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा चालू खाता रु. १३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु.५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. २ अर्ब २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.१ अर्ब २० करोड रहेको थियो । यस अवधिमा शोधनान्तर स्थिति रु.१५३ अर्ब ६८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई रु.२५८२ अर्ब ३८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वृद्धि भई रु.२९८ अर्ब ९७ करोड कायम भएको छ ।आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।