मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो
९ कार्तिक झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ । तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब सात करोड २२ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्यांकानुसार, चालु आवको तीन महिनामा चियाको निर्यात ४०.९० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा एक अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।कार्यालयको तथ्यांकानुसार, निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट १२६ प्रतिशत, छुर्पी ६१.८०, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१.४०, धातुका अरू अवशेष शतप्रतिशत, मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । अदुवा ३२.३० र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ ।मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा चार अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।