रणवीर सिंहको ‘धुरन्धर’ले दुई दिनमै कमायो ५८ करोड


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
1.3K
SHARES

२१ मंसिर काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ले बक्सअफिसमा राम्रो ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन घरेलु बक्सअफिसमा २७ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ। जुन रणवीरको करिअरकै सर्वाधिक ओपनर फिल्म हो।

शनिबार पनि फिल्मले आक्रामक कमाइ गरेको छ। शनिबार फिल्मले ३१ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। दुई दिनमा फिल्मको कूल नेट कमाइ ५८ करोड भारतीय रुपैयाँ पुगेको छ।‘धुरन्धर’ले रणवीरको अर्को फिल्म ‘सर्कस’को कुल लाइफटाइमको जति दुई दिनमै कमाएको छ। ‘सर्कस’ ले ३५ करोड भारतीय रूपैयाँ कमाएको थियो।

त्यस्तै, यस फिल्मले रणवीरका हिट फिल्महरू ‘सिम्बा’ र ‘पद्मावत’को ओपनिङ कमाइलाई पनि उछिनेको छ। जियो स्टुडियोको ब्यानरमा निर्मित यस फिल्मलाई श्याडो पिक्चर्सले नेपाल भित्र्याएको हो। नेपालमा पनि यस फिल्ममा दर्शकको राम्रै उपस्थिति छ।

एक्सन-थ्रिलर जनरामा बनेको फिल्ममा रणवीर एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्, जसले पहिले ‘उरी: द सर्जिकल स्ट्राइक’ फिल्म निर्देशन गरेका थिए।फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।