१ करोड ५० लाख डलर माग्दै गायिका लिपाले हालिन् सामसङविरुद्ध मुद्दा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
1.5K
SHARES

२८ बैशाख वासिङ्टन डीसी । पप गायिका दुआ लिपाले दक्षिण कोरियाली विद्युतीय उपकरण निर्माता कम्पनी सामसङविरुद्ध मुद्दा दायर गरेकी छिन् । अनुमति बिना टेलिभिजनको प्याकेजिङमा आफ्नो तस्बिर प्रयोग गरेको आरोप लगाउँदै उनले कम्पनीसँग १ करोड ५० लाख अमेरिकी डलर मागेकी छिन् । शुक्रबार अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर गरिएको मुद्दाअनुसार सामसुङले अमेरिकाभर बिक्री गरिएका विभिन्न टेलिभिजन मोडलका बक्समा दुआ लिपाको अनुहार भएको तस्बिर अनुमति बिना प्रयोग गरेको छ ।

मुद्दामा सामसङको प्याकेजिङ दुआ लिपाले मेहनतबाट कमाएको सफलतालाई अनुचित रूपमा प्रयोग गर्दै आफ्ना उत्पादनको प्रचार तथा बिक्री बढाउन डिजाइन गरिएको उल्लेख गरिएको छ । मुद्दामा कपिराइट उल्लङ्घन, ट्रेडमार्क उल्लङ्घन तथा दुआ लिपाको छवि र पहिचान दुरुपयोग गरिएको आरोप पनि समावेश गरिएको छ । कानुनी दस्तावेजअनुसार उक्त तस्बिर सन् २०२४ मा अष्टिन शहरान लिमिट्स पर्वमा गरिएको प्रस्तुति क्रममा खिचिएको थियो र त्यसको कपिराइट दुआ लिपाकै स्वामित्वमा रहेको दाबी गरिएको छ । दुआ लिपाले सन् २०२५ जुनमा मात्रै आफ्नो तस्बिर सामसुङका टिभी बक्समा प्रयोग भएको थाहा पाएको मुद्दामा उल्लेख छ । त्यसपछि सामाजिक सञ्जालमा प्रशंसकहरूले दुआ लिपा टिभी बक्स भन्दै पोस्टहरू गर्न थालेका थिए

मुद्दामा इन्स्टाग्रामका केही कमेन्ट पनि उल्लेख गरिएका छन्, जहाँ प्रयोगकर्ताहरूले दुआ लिपाको तस्बिर भएकै कारण टिभी किन्न चाहेको प्रतिक्रिया दिएका थिए । दुआ लिपाको कानुनी टोलीका अनुसार सामसुङलाई पटक–पटक ‘उल्लङ्घन रोक्न’ आग्रह गरिए पनि कम्पनीले त्यसलाई बेवास्ता गरेको थियो । दुआ लिपाले यसअघि पुमा, भसार्चीजस्ता ब्रान्डसँग व्यावसायिक साझेदारी गरिसकेकी छन् । उनले एप्पल, पोर्श र शनेललगायत ब्रान्डसँग पनि सहकार्य गरेकी छिन् । हालै उनी नेस्प्रेस्सोकी ग्लोबल एम्बेसेडर बनेकी छिन् । उनको पछिल्लो एल्बम र्‍याडिकल अप्टिमिजम सन् २०२४ मा सार्वजनिक भएको थियो ।