१०० दिनको कार्यकाल निकै उपलब्धिमुलक रह्यो – मन्त्री झाँक्री
३ माघ काठमाठौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो कार्यकालको एक सय दिन निकै उपलब्धिमुलक रहेको दाबी गरेकी छन् । आफू मन्त्री भएर आएको एक सय दिनमा गरेका कामका बारेमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो कार्यकालमा मन्त्रालयको समग्र प्रगति १८ दशमलब ९१ प्रतिशत रहेको बताइन् ।
विद्यमान राष्ट्रिय सहरी नीतिलाई परिमार्जन गरी संघीय ढाँचा अनुकूल बनाउन प्रस्तावित नीतिका उद्देश्यहरूलाई अन्तिम रूप दिई प्रदेश र स्थानीय तह लगायतका सरोकारवालासँग अन्तरक्रिया गर्ने तयारी गरिएको उनले बताइन् । युटिलिटी कोरिडोर सम्बन्धी व्यवस्था र सहरी पूर्वाधारमा ऋण तथा अनुदान लगानीका विषयहरूमा दिशाबोध हुने गरी सहरी विकास विधेयकको मस्यौदालाई अन्तिम रूप दिइएको झाँक्रीको भनाइ छ । यसैगरी वाग्मती नदी र यसका सहायक नदीहरूलाई स्वच्छ, सफा तथा प्रदुषणमुक्त राख्न वाग्मती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयकको मस्यौदालाई अन्तिम रूप दिइएको उनले बताइन् ।
त्यस्तै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई आएका बाँकी कार्यहरू सम्पन्न गर्न कार्यालय, संगठन संरचना, जनशक्ति र बजेटको व्यवस्था मिलाइएको जानकारी दिइन् । उनले अहिले मन्त्रालयले गतिका साथ काम गरिरहेको दाबी गरिन् ।
फोहोरमैला व्यवस्थापन सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहहरूलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहने गरी फोहोरमैला व्यवस्थापन सहयोग केन्द्र स्थापना गरिएको उनले बताइन् ।
सातवटै प्रदेशमा एक एक वटा सुविधासम्पन्न सभाहल निर्माण गर्ने सरकारको नीति अनुसार कर्णाली प्रदेशको सुर्खेतमा निर्माणाधीन ९८० सिट क्षमताको सभा हल निर्माण कार्यको पहिलो चरणको कार्य सम्पन्न भई वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको मन्त्री झाँक्रीको कार्यप्रगति विवरणमा उल्लेख छ ।