वर्तमान गठबन्धन सरकार पूरै असफल – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ९ २०७८
5.8K
SHARES

९ माघ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार पूरै असफल भएको बताएका छन्। कोरोना महामारीको तेस्रो लहर फैलिरहेका बेला सरकार गैरजिम्मेवार समेत बनेको उनले आरोप लगाए।

आइतबार एक वक्तव्य निकाल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकार सबै कोणबाट असफल भइसकेको दावी गरेका हुन्। यसैकारण नागरिकहरुमा समेत सरकारप्रति निराशा र आक्रोश बढिरहेको उनको भनाइ छ।
अहिले अर्थतन्त्रका हरेक सूचक समेत नकारात्मक रहेको ओलीले बताए।

कोरोनाको नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको, उल्टै जनताका लागि ल्याइएको खोप हराएको समेत बताए । २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै बताइरहेको भन्दै ओलीले त्यत्रो खोप कसले लुकायो या बेच्यो भन्ने प्रश्न गर्दै हिसाबकिताब समेत मागेका छन्।

शुक्रबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका उपलब्धि सुनाउँदै राष्ट्रका नाममा सम्बोधन गरेका थिए। त्यसको जवाफस्वरुप ओलीले आज पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सुुनाउे कार्यक्रम थियो। तर ओली र उनकी पत्नी राधिकालाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित गर्दै उनले वक्तव्य जारी गरेका हुन्।