निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्छ – वरिष्ठ अधिवक्ता केसी
९ माघ काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा केसीले संविधानले स्थानीय जनप्रतिनिधिहरूको पदावधि पाँच वर्षको भनेर तोकेकोले सरकारले विलम्ब नगरी स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने बताएका हुन् । स्थानीय तहपछि नै अन्य तहका निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधानले तीनै तहका निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिने बताए । तीनै तहका निर्वाचन एकैपटक गर्दा मुलुक र जनतालाई फाइदा हुन्छ कि हुँदैन, त्यसतर्फ पनि सोच्नुपर्ने उनले उल्लेख गरे ।
त्यस्तै, पूर्वमहान्यायाधिवक्ता रमेश बडालले आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने र पर धकेल्ने कुरालाई नेपालमा अस्थिरताको सिर्जना गर्नका लागि गरिएको खेतीको संज्ञा दिए । उनले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनले स्थानीय तहको निर्वाचन भएपछि मतगणना स्थानीय तहमा नै गर्ने व्यवस्था मिलाएको उल्लेख गरे । स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा गर्नु असंवैधानिक र गैरकानुनी हुने उनले बताए ।