रेकर्डबाट हिंसा शब्द नहटेसम्म माओवादीले संसद् बैठक अवरोध गर्ने
२८ भदौ काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनयुद्धमाथि संघीय संसद्मा अपमानित गर्ने प्रयास भएको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो शब्दबारे सच्चिएर निर्णय नभएसम्म आफूहरूले संसद् अवरोध जारी राख्ने जानकारी दिए।
‘हामीले विरोध गरेर जानुपर्छ, प्रतिपाद गरेर जानुपर्छ। अबदेखि यो समस्याको समाधान नहुँदासम्म, यो जनयुद्धलाई जसरी अपमानित गरिएको त्यसका बारे सच्चिएर नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौँ,’ उनले भने। गत भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर व्याख्या गरेका थिए।
सो विषयमा माओवादी केन्द्रले आपत्ति जनाएपछि छानबिन गर्न सचिवालयलाई सभामुख देवराज घिमिरेले निर्देशन दिएका थिए।
छानबिनपछि यसअघि गत भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका थिए। जसबारे माओवादीले शुक्रबारको संसदीय दलको बैठकमा छलफल गरेको थियो।
‘अबदेखि यो समस्याको समाधान नहुँदासम्म यो विषयवस्तुलाई जसरी अपमानित गरिएको छ, यसका बारे सच्चिएर नआउँदा समेत अवरोध गर्ने,’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
उनले अघि भने, ‘हामीले त्यतिबेला पनि सशक्त प्रतिवाद गरेका थियौँ। सभामुखज्यूले त्यतिबेला रुलिङ पनि गर्नुभएको थियो। जसरी त्यो रुलिङको जवाफ आयो। हिंसा भन्ने शब्दलाई मात्रै केन्द्रीत गरेर आयो।’उनले यो विषय गलत निर्णय भएको र आफूहरू प्रतिवादमा उत्रने जानकारी दिए।
‘नियमावलीमै कसैलाई होच्याएर बोल्न हँदैन भन्ने थियो। जसरी त्यो विषयवस्तु आयो, त्यो शान्ति सम्झौताको विपरितमा रह्यो,’ उनले भने।