विपत्तिको बेला विरोधका लागि विरोध नगरौं – प्रधानमन्त्री ओली
१ ५ असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध नगरी उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भई आज स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको बताए , ‘सरकार यहाँहरूकै हो । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।
उनले बाढी आउने कुरालाई रोक्न नसकिने बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’
उनले सरकारले उद्धार, राहत र पुनर्निर्माणमा अब प्रभावकारी बनाउने बताए ।प्रधानमन्त्री ओलीले मौसम विज्ञान विभागले वर्षाको अनुमान गरे पनि पहिरोको अनुमान नभएको बताएका छन् ।पूर्वानुमानमा वर्षा भारी हुनेबारेमा सरकारको तयारी के थियो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले रेड अलर्ट जारी भएको, तर कहाँ कहाँ पहिरो जान्छ कुनै पूर्वजानकारी नभएको बताए ।उनले भने, ‘गएपछि थाहा भयो ।’